काठमाडौं: प्रहरी प्रधान कार्यालयले नयाँ सरुवा, बढुवा र पदस्थापन सम्बन्धी मापदण्ड लागू गरेको छ । “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो ।
नयाँ मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ । त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ ।
पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ। त्यस्तै यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्ड बमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ।
यसरी श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ। तालिमपश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ भने ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको थियो । यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो कार्यविधिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई पनि मापदण्ड लागु हुने भएको छ । डीआईजीको हकमा क र ख श्रेणीका कार्यालयहरूबीच आलोपालो हुने गरि सरुवा हुनेछन् । कार्यलय दोहोरीने गरि सरुवा नहुने कार्यविधिमा उल्लेख गरिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी इन्स्पेक्टरसम्म ‘क’, ख र ग गरि वर्गीकरण गरिएको छ । ‘क’ कार्यालयमा जिम्मेवारी पाएका अधिकृतले ख र ‘ग’ कार्यालयमा क्रमशः जिम्मेवारी पाउने छन् ।
यस्तो छ मापदण्डको पूर्णपाठ :