डडेल्धुरा: गत वर्षको मंसिर २२ गते डडेल्धुराका ३६ वर्षीय तेजबहादुर साउद जन्ती पुगाउन जिप लगेर बैतडी गए। धेरै वर्षदेखि आफ्नै जिप चलाइरहेका उनी विप्पेकटाल पुगेका थिए। त्यहाँबाट फर्किदा राति उनी आफैले चलाइरहेको जिप बैतडीको पाटन नगरपालिका–१० डैसीली गाउँ नजिक दुर्घटनामा पर्यो। नवदुर्गा गाउँपालिका-५ उकलीमा रहेको घरभन्दा केही वर उनले चलाउने गरेको से१ज ८१६ नम्बरको जिप भिरबाट करिब २ सय ५० मिटर तल खोलामाथि भेटिएको थियो। तर, उनको शव भने जिपभन्दा ५० मिटर तल खोलामा फेला परेको थियो।
घटनापछि मृतकका भाई टेक साउदले जिल्ला प्रहरी कार्यालय बैतडीमा दुर्घटना ‘रहस्यमय’ भएको भन्दै जाहेरी दर्ता गराएका थिए। त्यसपछि उनीसहित बुवा गम्भीर सिंह साउदले पटक–पटक इलाका प्रहरी तथा जिल्ला प्रहरी कार्यालयमा घटनाबारे बुझे। तर जहिलै निराशाजनक जवाफ पाए। उल्टै बैतडी प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक(डिएसपी) प्रेमबहादुर शाहीले परिवारमाथि नै खनिने गर्ने गरेका छन्।
दुर्घटनामा आशंका गर्ने थुप्रै ‘क्लू’ भेटिँदा पनि १ वर्ष हुनलाग्दा समेत प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान नगरेको बुवाको गुनासो छ। दुर्घटनापछि दुर्घटना स्थलमा तेज साउदको ब्लूबुक, लाइसेन्स र रुट परमिट फेला परेको थिएन। तर, २ महिनापछि जिप निकाल्दा ती सबै कागजात सिटमै राखेको अवस्थामा भेटिएका थिए।
यति मात्रै होइन मेकानिकल टेष्टमा गाडी चल्दाचल्दै भीरबाट नखसेको समेत पुष्टि भएको थियो। चेकजाँच गर्ने मेकानिकले जिपमा चाभीको प्रयोग नभएको, जीप स्टार्ट गर्ने स्विच अफ भएको र स्टेरिङ लक भएको अवस्थामा जिप पल्टिएको निष्कर्ष निकालेका थिए।
यस्तै दुर्घटना भएको राति मृतक तेज घर नपुगेपछि मृतककी श्रीमतीले बारम्बार उनको मोबाइलमा फोन गरेकी थिइन्। फोन नउठेपछि करिब १० बजे घरबाट सडकतिर हेर्न जाँदा श्रीमती र आमाले पारी पट्टीको सडकमा लाइट बालेर रोकिराखेको जिप देखेका थिए। तर, धेरैबेरसम्म घर नपुगेपछि पुनः १२ बजेतिर गएर हेर्दा उनीहरुले उक्त जिप भीरबाट खसेको अवस्थामा देखे। एकछिन अगाडि धेरैबेरसम्म सडकमा भएको जिप केहीबेरमा अचानक कसरी खस्यो भन्ने प्रश्न परिवारले गरेको छ।
यसैगरी जिप ३ सय मिटर तल रहेको खोलामाथि तथा शव खोलामै पुगेको अवस्थामा मृतकका जुत्ता र मोबाइल भने सडकबाट करिब १० मिटर तल सहिसलामत भेटिएको बुवा बताउँछन्। मोबाइल र जुत्ता भने जिप खसेको स्थानबाट १० मिटर बायाँतिर भेटिएको थियो। मोबाइलको डिस्प्ले बिग्रिएको थियो। उक्त मोबाइल मर्मत गरेर हेर्दा एकजना डैसीली बस्ने महिलासँग घटनाको दिन बिहानबाट बारम्बार कुरा भएको ‘कलहिस्ट्री’ले देखाएको थियो।
परिवारले दुर्घटनास्थल नजिकै पसल चलाएर बस्ने उनीसँग सोधपुछ गर्दा उनले राति ८ बजे नै मृतक आफ्नो पसलबाट निस्केको बताएकी थिइन्। तर मृतककी श्रीमतीले राति साढे ८ बजे फोन गर्दा तेजले ‘म पसलमा छु, आउँदैछुु’ भनेका थिए। कल हिस्ट्री हेर्दा राति साढे ८ बजेदेखि ८ बजेर ४० मिनेटसम्म ती महिलाले मृतकको मोबाइलमा ५ पटक ‘मिस्डकल’ गरेको देखिन्छ। घटना घटेको ३ दिनपछि ती महिलाको उक्त नम्बर अफ छ।
सोही कारण उनको त्यो घटनामा संलग्नता रहेको आशंका परिवारले गरेको छ। परिवारले घटनाको अन्तिमसम्ममा मृतकसँग रहेकी ती महिलालाई प्रहरीले राम्रोसँग केरकार नगरेको गुनासो गरेको छ। प्रहरीलाई ‘पोलिग्राफी टेष्ट’ गर्न अनुरोध गर्दा प्रहरीले मिल्दैन भन्ने जवाफ दिएको परिवारको गुनासो छ। यस्तै बैतडीका डिएसपी प्रेम शाहीले मृतका भाईलाई ‘संंदिग्ध’ महिलाको घरनजिकै दुर्घटनास्थलका सामान फालेको भन्दै थर्काएका थिए। तर, पछि भने उनले ती सामान फोहोर भएको बताएका थिए।
यसरी प्रहरीले दुर्घटनाको सुक्ष्म अनुसन्धान नगरेर ढिलासुस्ती गरिरहेको गुनासो बढीरहेको छ। तर, यस विषयमा डिएसपी शाहीले भने दुर्घटनाको अनुसन्धान हाल पनि जारी रहेको बताएका छन्। ‘त्यो बारेमा हामीले धेरै बुझ्ने काम गरिरहेका छौ। हामी आफै गएर गाउँका धेरै मान्छेसँग बुझिरहेका छौं’ उनले भने। तर, दुर्घटनामा कसैको संलग्नता रहेको कुनै ठोस प्रमाण भने नभेटिएको उनको भनाइ छ।