काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सरकारले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिइरहेको दाबी गरेका छन् ।
नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार राजधानीमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले सिम्रिक एयरले १ लाख रुपैयाँ तिर्न बाँकी रहँदा सरकारले उडान रोकेमा आपत्ति जनाउँदै पछिल्लो समय सरकारले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिइरहेको दाबी गरेका हुन् ।
कार्यक्रममा उनले उदाहरणका रूपमा सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४६ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको हल्ला गराए पनि सञ्चालक एवं क्याप्टेन रामेश्वर थापा पैसा लिएर जाँदा १ लाख रुपैयाँमात्र बाँकी रहेको जानकारी पाएको बताएका थिए।
१ लाख रुपैयाँ बक्यौता रहेको विषयलाई लिएर प्राधिकरणले ठूलो मुद्दा बनाएर तीन दिनसम्म उडान रोकेर अनावश्यक दुःख दिएको ओलीले टिप्पणी गरे। उनले टिप्पणी गरिरहँदा सिम्रिक एयरले साउन २८ गते आइतबार ४६ लाख रुपैयाँ भुक्तानी गरेको जानकारी उनले पाउन सकेनन्।
सम्भवतः अध्यक्ष ओलीलाई क्याप्टेन थापाले प्राधिकरणमा तिर्न बाँकी रहेको ४५ लाख ८३ हजार ६ सय २० रुपैयाँको हिसाब नभनेको हुनसक्छ। पछिल्लो समय प्राधिकरण व्यवस्थापन र क्याप्टेन थापाबीच बढ्दो टकरावका कारण अध्यक्ष ओलीलाई उल्टो कुरा लगाएर प्राधिकरणप्रति उनको नकारात्मक धारणा बनाउन लगाएको बुझिन्छ।
ओलीको विश्वासपात्र सिम्रिक एयरका अध्यक्ष क्याप्टेन थापाले उद्योगी व्यवसायका बीचमा हुने कार्यक्रममा आफूलाई प्राधिकरणले १ लाख रुपैयाँ तिर्न बाँकी रहेको विषयलाई लिएर दुःख दिएको विषयमा कुरा राख्नसमेत अनुरोध गरेका थिए।
कार्यक्रममा अध्यक्ष ओलीले उद्योगी व्यवसायीबीच क्याप्टेन थापाले पाएको दुःखका बारेमा उदाहरण दिँदै ढाडससमेत दिएका थिए। सरकारले अनावश्यक दुःख दिएको विषयमा संसदमा आवाज उठाउनेसमेत प्रतिबद्धता जनाएका अध्यक्ष ओलीले बाँकी ४५ लाख रुपैयाँ भुक्तानी गरिसकेको भन्ने सुइकोसमेत पाएनन्।
प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार साउन २८ गतेसम्म दुई किस्तामा सिम्रिक एयरले ४६ लाख ८३ हजार ६२० रुपैयाँ ४९ पैसा तिरेको छ। यसरी लाखौं रुपैयाँ तिर्न बाँकी रहँदासमेत क्याप्टेन थापाले अध्यक्ष ओलीलाई किन झुटो विवरण दिएर सार्वजनिक कार्यक्रमका बोल्न लगाए भन्ने प्रश्न अहिले क्याप्टेन थापातिर सोझिएको छ।
सिम्रिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २७ लाख ७३ हजार ५ सय ५६ रुपैयाँ ८८ पैसा, तेन्जिङ हिलारी लुक्लालाई १५ लाख ७२ हजार ९ सय ६५ रुपैयाँ ६६ पैसा, सिभिल एभिएसन जोमसोमलाई ६८ हजार ३ सय ९६ रुपैयाँ ५२ पैसा, जनकपुर सिभिल एभिएसनलाई १३ हजार ८ सय ४५ रुपैयाँ ७९ पैसा, फाप्लु सिभिल एभिएसनलाई ७२ हजार ८ सय ५९ रुपैयाँ ३३ पैसा र रामेछाप सिभिल एभिएसनलाई ५ हजार ६९ रुपैयाँ ७८ पैसा तिरेको छ। उक्त रकम तिर्दा सिम्रिक एयरका वित्त प्रबन्धक रोशनविक्रम शाहले हस्ताक्षरसमेत गरेका छन्।