धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पदीय मर्यादा बचाउनै नसकेको पाइएको छ। उनले पदको गरिमा र मर्यादालाई नजरअन्दाज गर्दै (प्रतिनिधि सभा सदस्य) डा. आरजु राणा देउवालाई खुसी पार्ने काममात्र गर्ने गरेको पाइएको हो।
प्रतिपक्षी दलहरुले मुख्यमन्त्री शाहले अहिलेसम्मका गतिविधि नियाल्दा मर्यादामा ध्यानै नदिएर आरजुको चाकरी गर्ने गरेको आरोप लगाएका छन्। आज (शुक्रबार) मात्रै मुख्यमन्त्री शाह आफ्नो मर्यादाक्रम भुलेर प्रतिनिधि सभा सदस्य डा. देउवाको स्वागतका लागि धनगढी विमानस्थल पुगेका थिए।
सामान्यतया आफूभन्दा उच्च पदस्थ व्यक्ति सुदूरपश्चिम आउँदा मुख्यमन्त्री स्वागतका लागि एअरपोर्ट जाने चलन छ। तर मुख्यमन्त्री शाहले पटकपटक आफ्नो मर्यादालाई लत्याएर आरजुलाई खुसी पार्ने गरेका छन्। नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम अनुसार मुख्यमन्त्री ८औँ स्थानमा हुँदा प्रतिनिधिसभा सदस्यलाई १० औँ स्थानमा राखिएको छ। तर मुख्यमन्त्री शाहको सवालमा भने यो लागू नभएको देखिएको छ।
उनी आफुलाई पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणाभन्दा तल नै राख्ने गरेका छन्। गत बैशाखमा धनगढीमा भएको एक कार्यक्रममा समेत मुख्यमन्त्री शाहले मर्यादाक्रम मिचेका थिए। प्रमुख अतिथि राणा रहेको उक्त कार्यक्रममा मुख्यमन्त्री शाह अतिथिको रुपमा सहभागी भएका थिए। त्यो बेला मुख्यमन्त्री शाह निकै विवादित पनि बने।
यसरी पटकपटक मुख्यमन्त्री शाहले आफ्नो पदको गरिमालाई ध्यानमा नराखेर सांसदलाई खुसामद गर्नेतिर बढी केन्द्रित भएपछि उनको आलोचना भइरहेको छ। यस विषयमा बुझ्न खोज्दा मुख्यमन्त्री शाहले भने टेलिफोन नउठाएर उल्टै काटे।