धनगढीः कैलाली, कञ्चनपुरका राना थारु समुदायले आज तिज पर्व मनाइरहेका छन् । आज महिलाहरू दिनभरी पानीसमेत नखाएर निराहार व्रत बसेर तिज मनाउने राना थारु समुदायका बुद्धिजीवी डा.जीवन रानाले बताइन् ।
राना थारु समुदायले अरू भन्दा फरक तरिकाले तिज मनाउने गर्दछन् । महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् । बेलुकातिर नदीमा गएर पूजा गर्ने र त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् ।
यसैगरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय रामरतोदेवी रानाले बताइन्। मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ । सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर ’धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनू’ भन्ने गर्दछन् ।
झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको छ । तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ ।
फोटो: दिनेश खबर