धनगढीः सुदूरपश्चिममा प्रहरीले लागुऔषधविरुद्ध महाअभियान थालेको छ। प्रदेश प्रहरीका प्रमुख डिआईजी भरतबहादुर बोहराले लागुऔषधविरुद्ध युवा लक्षित महाअभियान थालिएको जानकारी दिए। उनका अनुसार लागुऔषध दुर्व्यसनमा संलग्न युवाहरूको संख्या बढ्न थालेपछि प्रहरीले महाअभियान थालेको हो।
सो अभियानमा लाग्न प्रेरित गर्न प्रहरीले आफैं कलेजहरूमा गएर कक्षा लिन थालेको छ। कलेजबाट सुरु भएको सो महाअभियान वडा हुँदै घरसम्म पुगाइने बोहराले बताए। लागुऔषधका जालो भत्काउन यस्तो अभियान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। लागुऔषध मुद्दामा आर्थिक वर्ष २०७६\७७ मा २७० जना पक्राउ परेका छन्।
यस्तै, आर्थिक वर्ष २०७७\७८ पक्राउ पर्नेको संख्या बढेर ३९४ पुगेको छ। आर्थिक वर्ष २०७८\७९ मा ५६३ जना लागुऔषध मुद्दामा पक्राउ परेकामा गत आर्थिक वर्ष २०७९\८० मा पक्राउ पर्नेको संख्या ह्वात्तै बढेर ८५६ जना पुगेको छ।
सुदूरपश्चिममा चालु आर्थिक वर्षमा हरेक दिन लागुऔषध ओसारपसार र प्रयोग गरेको घटनामा पक्राउ पर्नेको संख्या वृद्धि भएको प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए। प्रहरीको तथ्याङ्कले लागुऔषध दुर्व्यसनमा १६ देखि २० वर्ष उमेर समूहको संख्या अत्यधिक देखिएको छ। लागुऔषध विरुद्धको महाअभियान प्रहरीको मात्रै नभएर समुदायसँगको साझेदारी भएको प्रहरीले बताएको छ।