कैलाली : ब्राउनसुगरसहित पक्राउ परेकी महिलाले प्रहरीसामु नाम खोलिदिएपछि धनगढीमा लागुपदार्थको व्यापारमा संलग्न एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राती प्रहरीको गस्तीले धनगढीको धनगढी उपमहानगरपालिका–१३ राजपुरचोकमा हिँडिरहेकी गोदावरी नगरपालिका–२ की २६ वर्षिया सिता चौधरीलाई शोधपुछ गर्दा उनी शङकास्पद देखिएपछि चेकजाँच गरिएको प्रहरीको भनाई छ ।
शङ्का बढेपछि चेकजाँच गर्दा सिताको साथबाट २४ मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा राखेर सितालाई थप शोधपुछ गरेपछि उनले आफूलाई ब्राउनसुगर दिने दम्पत्तिको नाम नै खोलिदिएकी छन् ।
प्रहरीका अनुसार सिताको बयानका आधारमा धनगढी उपमहानगरपालिका–४ तारानगर डेरा गरी बस्ने ३४ वर्षीय गणेशबहादुर डाँगी र उनकी श्रीमती ३० वर्षिया खेमा डाँगीलाई १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ । प्रहरीले उनीहरुलाई घरडेराबाटै पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।