धनगढी: कैलालीमा लागुऔषधको जालो झन बढ्दै गएको छ। पछिल्लो समय सीमा नाकाबाट ब्राउनसुगर तस्करी र कैलालीमा लागुऔषध प्रयोगकर्ताहरु बढ्दै गएको पाइएको हो।
प्रहरीको तथ्यांक अनुसार अहिले विषेशगरी युवाहरु लागुऔषधको दलदलमा फसिरहेका छन्।
कैलालीस्थित अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले मात्रै चालु आर्थिक वर्षको श्रावण महिनामा मात्रै लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न २५ जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गणेश बरालका अनुसार पक्राउ पर्नेमा २४ जना युवक र १ युवती रहेका छन्। उनीहरुको साथबाट प्रहरीले २९ ग्राम ५२५ मिलीग्राम लागुऔषध (खैरो हेरोईन) बरादम गरेको छ। १ महिनाको अवधिमा लागुऔषध सम्बन्धीका १५ ओटा मुद्धा दर्ता भईसकेको बरालले बताए। गत आर्थिक वर्ष २०७९/०८० मा ईलाका प्रहरी कार्यालय मालाखेतीले लागुऔषधमा संलग्न ७८ जना पुरुष र ६ जना महिला गरी ८४ जना पक्राउ गरेको थियो।
त्यसैगरी गत आर्थिक वर्षमा लागुऔषधमा ५४ मुद्धा दर्ता भएकोमा ४५ वटा किनारा लागेका थिए भने ९ वटा चालु आर्थिक वर्षमा सारिएका थिए।