धनगढी: धनगढीको सेती प्रादेशिक अस्पताल भित्रको बेथितिमा अनेरास्ववियुले ध्यानाकर्षण जनाएको छ। आज (आइतबार) अनेरास्ववियुको कैलाली जिल्ला कमिटीले सेतीमा ब्याट्री मौलाउदै गएको भन्दै अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
सुदूरपश्चिमकै स्वास्थ्य क्षेत्रको धरोहर सुविधा सम्पन्न अस्पतालका रुपमा चिनिदै आएको सेती प्रादेशिक अस्पतालको पछिल्लो समय अवस्था खस्किदै गएकोले ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बताए। उनका अनुसार सेतीमा सेवाग्राहीले समयमा सेवा नपाउने, शल्यक्रियाको लागि एक वर्ष पछिको मिति प्रदान गर्ने, खानेपानीको नाजुक अवस्था, शौचालय तथा सरसफाइको अवस्था पनि चिन्ताजनक छ।
यस्तै सेतीमा कार्यरत चिकित्सकले बाहिरको निजी अस्पतालसंग सेटिङ गरेर रेफरको सिफारिस गरिदिने लगायत नर्सहरुको पनि समस्या रहेको बताइन्छ। सोही समस्याहरुलाई समाधान गर्नुपर्ने व्यवस्थापन समिति र प्रशासन पनि कमिसनकै गोलचक्करमा मात्र फसेको अनेरास्ववियुको आरोप छ। यीनै समस्या समाधानका लागि आफूहरुले ध्यानाकर्षण गराएको र समस्या समाधान नभए थप आन्दोलन गरिने संयोजक बोगटीले बताए।
अस्पताल भवन अलपत्र, ठेकेदारलाई ‘ठिक’ पार्ने चेतावनी
यस्तै सेती प्रादेशिक अस्पतालको नयाँ भवनलाई निर्माण कम्पनी र ठेकेदारले काम सम्पन्न नगरेर अलपत्र छाडेको पाइएको छ। निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने अवस्थामा पनि अहिलेसम्म निर्माण कार्य नसकिएको अनेरास्ववियु कैलालीले जनाएको छ। सो भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाह र सेवाग्राहीलाई सास्ती भएको अस्पताल प्रशासनले बताएपछि अनेरास्ववियुले त्यहाँ पनि ध्यानाकर्षण गराएको छ।
जसका लागि भवन निर्माणको काम हेर्ने संघीय सहरी विकास कार्यालयलाई भवन अलपत्र पर्नुको कारण माग गरिएको छ। अन्यथा अनेरास्ववियुले भवन निर्माणको जिम्मा लिएका ठेकेदार, कर्मचारी र निर्माण कम्पनीलाई पनि कारबाही गर्ने जनाएको छ।