काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिइन् ।
यही भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ ।
उनले बुस्टर डोज लगाउन छुटेकाका लागि पनि पहिलो बुस्टर डोज दिइने बताइन्। उनले दोस्रो बुस्टर कम भएकाले लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताइन्।
सूचना अधिकारी खड्काले बुस्टर डोज लगाउन छुट भएकालाई लगाउन आग्रह गरेकी छन् । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी तथा गैरसरकारी अस्पतालमा खोप लगाइनेछ ।
यसअघि नियमितरूपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताललगायत अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो ।
अहिले कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै घटेको छ । शून्य सङ्ख्यामा समेत सङ्क्रमण घटेको पाइएको छ । भदौ ५ गते एक सय ६१ जनामा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको थियो ।