धनगढी: कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका र भीमदत्त नगरपालिकाबाट बुधबार लागुऔषध खैरो हेरोईनसहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बेलौरी नगरपालिका–६ बाट कैलाली गौरीगंगाका २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका –७ देवहरिया बस्ने २३ वर्षीय रेशम रानालाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार उनीहरुको साथबाट ३ दशमलव ३० ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले विशेष सुचनाका आधारमा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको थिए ।
यस्तै, भिमदत्त नगरपालिका– १० को पशुपति टोलबाट १ दशमलव ८३ ग्राम लागुऔषध खैरोहेरोईनसहित अर्का युवकलाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ६ बस्ने २३ वर्षीय प्रकाश नेपाली रहेका छन् ।
उनलाई पशुपति टोल बस्ने किशोर नेपालीको घरमा चोरी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका नेपालीलाई चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो । लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।