धनगढी: थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका बालक टेकबहादुर साउँदको सालिक अनावरण गरिएको छ । टीकापुर घटनाको मुख्य योजनाकारको अभियोग लागेर अदालतले जन्म कैदको फैसला सुनाएर राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरीले साउँदको सालिकको अनावरण गरेका हुन् ।
८ वर्ष अघि आजकै दिन थरुहट–थारुवान र अखण्ड सुदूूरपश्चिम आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नाबालक साउँद, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० लक्ष्मण न्यौपानेसहित ८ जनाको विभत्स हत्या गरिएको थियो ।
उक्त घटनाको ८ वर्ष पुगेको तथा मृतक साउँदको स्मृतिमा बिहीबार सालिक अनावरण गरिएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल र टेकबहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो ।
उक्त सालिकको रेशमलालसहित नाउपाकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, टेकबहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा अनावरण गरे । सालिक अनावरण गर्दै नाउपाका संरक्षक रेशमलालले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा भएको बताए ।
साउँदका बुवा नेत्र साउँदलाई अङ्कमाल गर्दै चौधरीले अझै पनि आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने धारणा राखेका थिए । टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम भइरहेको आरोप पनि उनको थियो ।