धनगढीः कैलालीका चार स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा हटाइएको छ। गेटा आँखा अस्पताल, घोडाघोडी हस्पिटल, लाल रत्न हस्पिटल र नवजीवन हस्पिटलबाट स्वास्थ्य बिमा बोर्डले प्रदान गर्दै आएको बीमा उपचार सेवा हटाएको हो।
बीमा बोर्ड सुदूरपश्चिमका प्रदेश संयोजक रमेन्द्रप्रसाद कुश्वाहले गेटा आँखा अस्पतालले यस्तो सेवा आफैले हटाएको र बाँकी अस्पतालबाट दिने सेवाका लागि नवीकरण नभएको बताए। आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यपछि २०८० साउन अन्तिमसम्म ती अस्पतालहरूबाट बीमा सेवा हटाइएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।
अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि आफैँले सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूबाट बीमा सेवा हटाइएको बोर्डले जनाएको छ। आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याइएको बजेटमा स्वास्थ्य बीमा कार्यक्रम सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट सञ्चालन गर्ने उल्लेख छ।