धनगढी: सुदूरपश्चिममा लम्पी स्किन रोगको सङ्क्रमण भयावह बन्दै गएपछि पशुपालन किसानहरू आन्दोलित भएका छन् ।
रोग नियन्त्रण तथा भएको क्षति व्यवस्थापनमा सरकार निरीह वनेको भन्दै अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय धनगढीमा धर्ना सँगै ज्ञापन पत्र बुझाएको छ ।
लम्पी स्किन रोगलाई महाकारी घोषणा गरी प्रभावकारी उपचार तथा व्यवस्थापन थालिनुपर्ने,मरेका पशुहरूको बिमा रकम यथाशीघ्र भुक्तानी गरिनु पर्ने लगायतका १० बुँदे माग राख्दै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीलाई ज्ञापन पत्र बुझाइएको सङ्घका सुदूरपश्चिम अध्यक्ष मदन रेग्मीले बताए ।
ज्ञापन पत्र बुझे पश्चात् किसानहरूलाई सम्बोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले लम्पी स्किन रोग नियन्त्रणमा प्रदेश सरकार प्रभावकारी ढङ्गले लागेको बताए ।