-खगेन्द्र गिरी
राणा शासनको अन्तिम कालखण्डको कुरो। मुस्ताङको लोमान्थाङ्बाट एक जना नवयुवक तिब्बतको सिंगात्सेमा पढ्न गएका थिए। त्यतिखेर मुस्ताङ्बाट सिंगात्से पुग्न घोडामा जाँदा तीन हप्ता लाग्थ्यो।
सो नवयुवकको व्यक्तित्व, लवाईखवाई र छाँटकाँट देखेर त्यहाँका मान्छेहरु मोहित हुन्थे। सिंगात्सेमा पढ्दापढ्दै त्यहाँको उच्च घरानियाँ परिवारकी एक युवतीसित ती युवकको प्रेम बस्यो। बिहेको कुरो चल्यो। त्यति टाढाको युवकलाई आफ्नी छोरी दिन परिवारले मान्ने कुरा थिएन। फलत २० वर्षका ती नवयुवकले युवतीलाई भगाएर ल्याए। आफ्नो मातृथलोमा पुर्याएर विधिवत बिहे गरे।
ती नवयुवक थिए मुस्ताङ्गी राजा एन्गुन तेन्जिङ् त्रुन्डुल विष्टका साइँला छोरा जिग्मे दोर्जी पल्बर विष्ट र ती युवतीको नाम थियो सिडोल। त्यसपछि घटनाक्रमहरु आफ्नै लयमा बगे। राजा एन्गुन तेन्जिङ्का दुबै छोराको लगालग निधन भएपछि उनै साइँला छोरा जिग्मे दोर्जी पल्बर विष्टलाई मुस्ताङ्को युवराज घोषित गरियो। २०२१ सालमा पिताको निधन भएपछि ती युवराज मुस्ताङ्को राजा भए।
जिग्मेसित बिहे गरेर नेपाल आएकी सिडोलले कहिलै पनि माइत जान पाइनन्। पचासको दशकमा चीनको हस्तक्षेपले तिब्बतमा ठूलो उथलपुथल र हिंसा भयो। त्यस्तो वातावरणमा तीन हप्ता लगाएर माइत जान सम्भव भएन। २०१५ सालमा तिब्बतमा चीनले पूर्ण रुपमा नियन्त्रण गरेपछि त सीमा आवागमन नै रोकियो। सिडोलका माइतीहरु शरणार्थी भएर भारत पुगे।
जिग्मे र सिडोलले एउटा छोरा जन्माएका थिए। तर आठ वर्षमै बितेपछि अरू सन्तान जन्मिएनन्। उनीहरुले भाइको छोरालाई आफ्नो उत्तराधिकारी बनाए। राजामा सन्तान बिस्तारको चाहना तीव्र हुन्छ। तर राजा भएर पनि जिग्मे दोर्जीले सन्तानको रहर गरेर अर्को बिहे गरेनन्। रानी सिडोलको प्रेममै चुर्लुम्म डुबीरहे।
राजाको बुहारी र पछि रानी भएर पनि उनले बिहे भएको १५ वर्षपछि मात्रै नेपाली नागरिकता पाएकी थिइन्। रानी सिडोल विष्टले पञ्चायत कालमा लोमान्थाङ् गाउँ पञ्चायतको प्रधानपञ्च भएर लामो समय काम गरेकी थिइन्। २०७३ सालमा राजा जिग्मे दोर्जे पलवर विष्ट पनि बिते।
मुस्ताङकी बुहारी भएर आएकी तिब्बती कन्या सिडोलले विगत ७३ वर्षदेखि मुस्ताङ्लाई आफ्नो घर मानेर सिङ्गो जीवन यतै बिताइन्। हाल ८९ वर्ष पुग्न लागेकी राजमाता सिडोलले बिहे गरेर मुस्ताङ् आएपछि कहिल्यै आफ्नो जन्मघर माइतीघरको मुख हेर्न पाइनन्। आफ्नो सम्पूर्ण जीवन आफ्नो प्रेमीको जीवनलाई सिंगार्न र प्रेमीको घरलाई सम्हाल्नमै लगाइन्।