दार्चुला: दार्चुलामा चक्कुले हानेर एकल वृद्धाको हत्या गरिएको पाइएको छ । मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८५ वर्षीया भागरथी चन्दलाई चक्कुले हानेर हत्या गरिएको पाइएको हो ।
उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ । टोपालीस्थित घरमा एक्लै बस्दै आएकी उनी शनिबारदेखि सम्पर्कविहीन भएपछि आफन्तले आइतबार प्रहरीमा निवेदन दिएका थिए । वृद्धाको शव सोमबार घरभन्दा २ सय मिटर पर खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । हत्याको कारण र संलग्नको पहिचान खुलेको छैन । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box