काठमाडौं – पाकिस्तानको राजनीतिक इतिहासले पुनः बाटो परिवर्तन गरेको छ। इमरान खान विरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि प्रतिपक्षी मुस्लिम लीगका प्रमुख शहबाज शरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।
शहबाज यसअघि तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका राजनीतिज्ञ नवाज शरिफका भाइ हुन्। पानामा पेपर्समा भएको आर्थिक खुलासासँगै भ्रष्ट्राचारको अभियोग लागेपछि नवाजलाई सन् २०१८ मा तेस्रो पटक त्यहाँको सरकारबाट हटाइएको थियो।
पाकिस्तानको संसद्को तल्लो सदनमा तीन वर्षयता विपक्षी दलका नेता रहेका शहबाज निवर्तमान प्रधानमन्त्री इमरान खानका खरो आलोचकमध्ये एक हुन्।
सात करोड ६० लाख अमेरिकी डलर बराबर गैरकानुनी सम्पत्ति राखेको विषयमा पाकिस्तानको भ्रष्ट्राचार विरोधी निकाय न्याश्नल अकाउन्टिबिलिटी ब्यूरोले उनलाई सन् २०२० को सेप्टेम्बरमा पक्राउ गरेको थियो। उक्त निकायको अनुसन्धानले शहबाजका २८ वटा नक्कली खाताहरू रहेको दाबी गरिएको थियो। जसबाट सन् २००८ र २०१८ को बीचमा उक्त रकम शुद्धीकरण गरिएको आरोप लगाइयो।
उक्त अनुसन्धानले ब्याङ्कबाट पैसा निकालिएका १७,००० वटा कारोबारको अध्ययन गर्दै उक्त रकम लुकाइएका खाताहरूमा राखिएको र शहबाजलाई व्यक्तिगत रूपमा दिइएको दाबी गरेको थियो। उनी अहिले धरौटीमा रिहा भएका हुन् तर उनले सम्पत्ति शुद्धीकरणसहित आयस्रोत बारेको मुद्दा पनि खेपिरहेका छन्।
पहिलो पटक सङ्घीय सरकारको नेतृत्व गर्न लागेका ७० वर्षीय पाकिस्तानी प्रधानमन्त्रीसँग यसअघि प्रान्तीय मुख्यमन्त्रीको अनुभव छ। उनी तीन कार्यकाल र १३ वर्ष मुख्यमन्त्री भएको पन्जाब देशको सबैभन्दा धेरै जनसङ्ख्या भएको र राजनीतिक रूपमा महत्त्वपूर्ण प्रान्त हो।
पन्जाबको मुख्यमन्त्री रहँदा उनले कहिले भावनात्मक उत्तेजना र कहिले कार्यशैलीका कारण राजनीतिक विपक्षी, सञ्चारमाध्यम र जनताको ध्यान तानिरहन्थे। उनी र उनको टोली कहिले बाढीमा गमबुट लगाएर उभियो, कहिले सरकारी निकायहरूमा अकस्मात् छापा मार्न पुग्यो।
उनका आलोचक र विरोधीहरूले यो सबै देखाउनका लागि गरिरहेको भन्दै आलोचना गर्ने गरेका थिए। उनीसँग कहिल्यै नछुट्ने सञ्चारमाध्यमले यसको पुष्टि गर्थे। तर शहबाजसँग काम गरेका सरकारी अधिकारीहरू र पत्रकारहरू उनी यस्ता क्षणहरूमा कठिन मेहनत गर्ने प्रशासकूको रूपमा प्रस्तुत हुने गरेको बताउँछन्।
लाहोरका वरिष्ठ पत्रकार सलमान गनीले शरिफ परिवार र उनीहरूको दलबारे लामो समयदेखि समाचार लेखिरहेका छन्। बीबीसीसँग कुरा गर्दै उनले शहबाज सन् १९८५ मा लाहोरको वाणिज्य सङ्घ चेम्बर अफ कमर्सको अध्यक्ष भएको बताए।
`मलाई सम्झना छ कि उनीहरू त्यो समयमा सामान्य कारमा चढ्थे। उनीहरूले पार्टीका कार्यकर्ताहरूलाई सामान पुर्याउन पनि त्यही कार प्रयोग गर्थे,´उनी भन्छन्। सलमान गनीका अनुसार दाजु नवाज शरिफ र उनको दललाई राजनीतिमा प्रवर्द्धन गर्न शहबाजले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
दाजुलाई सघाउँदै आएका शहबाज आफू पनि राजनीतिमा समावेश हुने निर्णय गरे र सन् १९८८ को पन्जाबको प्रान्तीय संसद्मा सदस्य भए। उनी सन् १९९० र सन् १९९३ मा पुन निर्वाचित भए। सन् १९९३ मा उनी प्रान्तीय सभामा प्रतिपक्षी दलको नेता चुनिए। जब पाकिस्तान मुस्लिम लीग सन् १९९७ को निर्वाचनमा विजयी भयो शहबाज शरिफ पन्जाबको मुख्यमन्त्रीमा पहिलो पटक निर्वाचित भए। वरिष्ठ पत्रकार मुजीब उर रहमान शमीले यो समयको राजनीतिलाई नजिकबाट नियालेका छन्।
कुशल प्रशासक समेत रहेका उनले पन्जाबमा निकै प्रभावकारी टोली बनाएर काम गरेका थिए। मुख्यमन्त्रीको पहिलो कार्यकालमै उनले प्रान्तमा धेरै परियोजनाको सुरुवात गरे। तर सेना प्रमुख परवेज मुशर्रफले सत्ता हातमा लिएर सैनिक शासन लागु गरेपछि शहबाजले पूरा कार्यकाल पन्जाबको प्रान्तीय सरकार नेतृत्व गर्न पाएनन्।
सैन्य कू लगत्तै दुवै जना शरिफ दाजुभाइ पक्राउ परे। त्यसपछि दाइ नवाज शरिफ लामो समय साउदी अरबमा निर्वासनमा बसे।