धनगढी: सुदूरपश्चिम प्रदेशका तीन अस्पताललाई दुर्गा दशरथ भट्ट स्मृति प्रतिष्ठानले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सोमबार अत्तरियास्थित प्रतिष्ठानमा आयोजित औपचारिक कार्यक्रमकाबीच डडेल्धुरा अस्पताल, सेती प्रादेशिक र महाकाली प्रादेशिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
प्रतिष्ठानका संरक्षक तथा पूर्वमन्त्री नेकपा एमालेका केन्द्रीय सचिव एवंम् कर्णाली इन्चार्ज लेखराज भट्टले तीनै अस्पताललाई एक करोड २२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । भट्टले उक्त सामाग्री हस्तान्तरण गरेको पत्र सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाह, डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टलाई प्रदान गरे ।
अस्पतालका अध्यक्षहरुले प्रतिष्ठानले गरेको सहयोग प्रती धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेको धारणा व्यक्त गरे । प्रतिष्ठानका संरक्षक पूर्व मन्त्री भट्टले आफू राजनीतिसँगै समाज सेवामा दुर्गा–दशरथ ९ बुवा आमा० को प्रेरणाले लागेको बताए ।
भट्टले जीवन नै राजनीतिमा बितेकाले बुवा आमाको नाममा खोलिएको प्रतिष्ठान मार्फत पनि जनताको सेवामा सक्रिय हुने बताए । प्रतिष्ठानसँग काठमाडौँको ह्याम्स अस्पतालले सहकार्य गरेर स्वास्थ्य सामाग्री सहयोग गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका संरक्षक गोकर्ण भट्ट, गोदावरी नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि सिंह साउँद, प्रतिष्ठानका कोषाध्यक्ष शर्मानन्द भट्ट लगायतको सहभागिता रहेको थियो ।