जुम्ला: नेकपा माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नपाउने निर्णय गरेको छ । तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा आज बिहीवार गरिएको पत्रकार भेटघाटमा माओवादी जाँड–रक्सी नखाने निर्णय गरेको जानकारी गराएको हो ।
माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँड–रक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्नरनगराउन एक विशेष सङ्कल्प प्रस्ताव पारित गरिएको माओवादी जुम्ला अध्यक्ष वीरबहादुर कुँवरले प्रस्तुत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
माओवादीले भदौ १६ देखि मङ्सिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । यो तीन महिने अभियानका लागि जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिकामा नवराज न्यौपाने, सिँजा गाउँपालिकामा प्रभात चलाउने, हिमा गाउँपालिकामा गोविन्द तिमिल्सिना, तिला गाउँपालिकामा झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिकामा वीरबहादुर रावत, गुठीचौर गाउँपालिकामा रत्न गाह, पातारासी गाउँपालिकामा डा। कलबहादुर रोकाया र चन्दननाथ नगरपालिकामा बिर्खबहादुर थापा खटाइएको जानकारी गराइएको छ ।
अभियानको अवधिमा सरकारको जनपक्षीय सुशासन र समृद्धिको कार्यलाई नागरिकको घरदैलोमा पुर्याइदिने, अभियानलाई तीन चरणअन्तर्गत पहिलो चरण वडामा, दोस्रो चरण पालिकामा र तेस्रो चरणमा जिल्लास्तरमा गतिविधि केन्द्रित गर्ने निर्णय भएको छ ।
पत्रकार भेटघाटमा इन्चार्ज लामाले पार्टीको यो अभियानलाई सफल बनाउन सबैलाई अपिल गरेका छन्।