धनगढी: नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशले प्रशिक्षण कार्यक्रम तथा चौँथो पूर्ण बैठक सम्पन्न गरेको छ । संगठनका प्रदेश अध्यक्ष कृष्णबहादुर शाहीको अध्यक्षतामा बिहीबारदेखि धनगढीमा सुरु भएको प्रशिक्षण र बैठक शुक्रबार सम्पन्न गरिएको हो ।
कार्यक्रममा संगठनका प्रदेशस्थित सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधि, प्रदेश पदाधिकारी एवंम् सदस्य, केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य समेतका निजामती कर्मचारी र राष्ट्र सेवक सहकारी बचत तथा ऋण सहकारीका अध्यक्ष एवंम् व्यवस्थापकलाई प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा सहकारी सेवालाई कसरी थप सुदृढ तथा व्यवस्थित बनाउने, निजामती सेवालाई थप चुस्त दुरुस्त बनाउने एवंम् माक्सवादी विचारधाराका सम्बन्धमा विभिन्न वक्ताहरुले प्रशिक्षण दिएका थिए ।
संगठनका सुदूरपश्चिम अध्यक्ष कृष्णबहादुर शाहीकाअनुसार एमालेका स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री कर्णबहादुर थापा, सुुदूरपश्चिम प्रदेशका सचिव धर्मराज पाठक, निजामती संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले प्रशिक्षण दिएका थिए ।
यस्तै, पेशागत महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, उपाध्यक्षद्धय भवानी दाहाल, रेवन्त गौतम, महासचिव जीवन काफ्ले, केन्द्रीय सचिवालय सदस्य कविसिंह कठायत र सहकारी प्रशिक्षक केएन श्रेष्ठले समेत प्रशिक्षण दिएको शाहीले जानकारी दिए । समापन कार्यक्रमका प्रमख अतिथि समेत रहेका मुख्य वक्ता एमाले स्थायी कमिटि सदस्य थापाले माक्सवाद र जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै प्रशिक्षण कार्यक्रमकैबीच बिहीबार नेपाल निजामती कर्मचारी संगठनको सुदूरपश्चिम प्रदेश समितिको बैठक समेत सम्पन्न भएको छ । बैठकले प्रदेश निजामती सेवा ऐन त्तकाल संशोधन गर्नुपर्ने, तत्काल नियमावली जारी गर्नुपर्ने, स्थानीय निजामती सेवा ऐन र नियमावली समेत तत्काल जारी गर्नुपर्ने माग गर्दै सुुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।