काठमाडौँः सुर्खेतमा किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । दैलेख महाबु गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का ३६ वर्षीय सुरेन्द्रबहादुर शाही पक्राउ परेका हुन् ।
ती किशोरी दैलेखबाट वीरेन्द्रनगरमा रहेको फुपूको घर जान भनी हिँडेकी थिइन् । तर फुपूको घर राम्ररी थाहा नभएकी उनलाई अटो चालक सुरेन्द्रले घर देखाइदिने भनी भे १ ह २३०९ नम्बरको अटोमा दुई घण्टासम्म घुमाएर राती ९ बजे घर फेला नपरेको भन्दै वीरेन्द्रनगरको यरो थकाली होटेलमा राखेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
किशोरीलाई धम्की दिएर होटेल पुर्याइएको, मदिरा खाएर पटक–पटक बलात्कार गरेको, किशोरीलाई पनि जबर्जस्ती मदिरा खुवाएको र भनेको नमाने मारेर फालिदिन्छु भनेर धम्की समेत दिएको पाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मण शाहीले बताए ।
सुरेन्द्रले बलात्कारपछि होटेलको एक गल्लीमा लगेर किशोरीलाई छोडिदिएका थिए । त्यसपछि बेवारिसे भएकी उनलाई चिनजानकी एक जना दिदी भेटिइन् र किशोरीको अवस्था नाजुक देखेपछि सोधीखोजी गरिन् । १० दिनसम्म दिदीको घरमा बसेकी उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि दिदीले किशोरीका बुबालाई सुर्खेत बोलाएकी थिइन् ।
उनका बुबाले प्रहरीमा पुगेर छोरीलाई फकाउँदै घटनाबारे सोधपुछ गरेपछि आफूहरुले खोजी कार्य सुरु गरेको डीएसपी शाहीले बताए । आरोपितको होटेलमा इन्ट्री गरेको किताबमा नाम र ठेगाना सही नभएको तर किशोरीले भनेअनुसार उसको हातमा भएको ट्याटुका आधारमा १३ गते पक्राउ गरिएको उनले बताए ।
प्रहरीले सुरेन्द्रविरुद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी सम्बन्धी मुद्दा चलाएर अदालतबाट ५ दिनको म्याद थप समेत गरिसकेको छ ।