कैलाली: हिजो(शनिबार) काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)को एक स्टाटसले सबैको ध्यान तानेको थियो।
सिंहदरबारमा नै आगो लगाइदिने भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि अहिले उनको आलोचना भइरहेको छ। उनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेपछि आक्रोश पोख्दै ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार’ लेखेका थिए।
उक्त गाडीमा बालेन्द्रकै पत्नी सविना काफ्ले सवार थिइन्। त्यसै कारण बालेन्द्रले फेसबुकमा आक्रामक अभिव्यक्ति दिएको पुष्टि हुन्छ। सार्वजनिक बिदाको दिन पासबिनाको गाडी चलेको पाइएपछि सामान्य सोधपुछ गरेर छाडिएपछि बालेन्द्रले चित्त दुखाएर दिएको त्यो अभिव्यक्तिले अहिले उनैलाई ‘ब्याक फायर’ गरिरहेको छ।
तर, भिक्टर पौडेल एडमिन रहेको ‘रुटिन अफ नेपाल बन्द’ (आरओएनबी) नामक चर्चित पेजले भने बालेनको बचाउ गर्दै आज एउटा पोष्ट सेयर गरेको थियो। जसमा उसले बालेन्द्र शाह दम्पतीलाई पुत्री लाभ भएको जानकारी दिँदै बधाई दिइएको थियो। त्यो ‘स्टन्ट’का कारण बालेनप्रति आक्रोशित हुनेहरुले उक्त गाडीमा सुत्केरी शविना सवार भएको हुनसक्ने अड्कल काट्दै भावनात्मक बने।
तर, ‘रुटिन अफ नेपाल बन्द’ले बालेनको बचाउका लागि आफ्ना लाखौं फ्लोअर्सलाई ढांटेको पाइएको छ। आज नभएर सविना १ साताअघि नै डेलिभरी भएको पाइएको हो।
मेडिसिटी अस्पताल स्रोतले सविनाको एक साताअघि नै डेलिभरी भएको पुष्टि गरेको छ। आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिएकी हुन्। तर जन्मपछि दुईमध्ये एक बच्चालाई भने बचाउन सकिएको थिएन। अर्को बच्चाको स्वास्थ्यमा केही समस्या भएपछि ललितपुरको मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतको भनाइ छ। बच्चा अस्पतालमै रहेपनि सविना भने दुई दिनअघि नै डिस्चार्ज भइसकेकी छन्। बच्चा अस्पतालमा रहेकाले सविनासहित बालेनको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ।
अहिले भने बालेनको नजिक मानिने भिक्टर एडमिन रहेको रुटिन अफ नेपाल बन्दले आफ्नो उक्त भ्रामक पोष्टलाई अध्यावधिक गरेको छ।