डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले काम नगर्ने ठेकेदारको म्याद थप नगरिने बताएका छन्।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आइतबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यसपालि म्याद थप गर्दा धेरै विचार गरिने बताएका हुन्। तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनीको ठेक्काको म्याद थप नगर्नका लागि आफूले लबिङ गरिरहेको उनको भनइ छ।
‘निर्माण कम्पनीले लामो समयसम्म विभिन्न बाहना वा कारण देखाएर योजनाहरू सम्पन्न नगरेका धेरै उदाहरण छन्। यसपालि म्याद थप गर्दा चाहिँ विचार गरेर थप्छौँ,’ मन्त्री देउवाले भने, ‘आफ्नो ऐन, नियम र कार्यविधि राम्रो बनाएर यसपटक काम गर्ने कम्पनीको ठेक्काको म्याद थप्नु हुन्न भन्ने पक्षमा छु र त्यसका लागि लबिङ गरिरहेको पनि छु।’
मन्त्री देउवाले डडेल्धुरा जिल्लामा सधैँ राम्रो बजेट आउने तर कार्यान्वयनमा समस्या हुने गरेको बताए। ‘यो जिल्लामा सधै राम्रो बजेट आउँछ,’ उनले भने, ‘तर सधैँ बजेट फ्रिज जाने समस्या छ।
यसमा कार्यान्वयन गर्ने कार्यालय र निर्माण व्यवसायी सबैभन्दा बढी दोषी छन्।’