काठमाडौँ: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले बाँदरबाट पीडित किसानहरुको समस्या समाधानका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने धारणा राखेकी छन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले बाँदरको संख्या घटाउनका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने धारणा राखेकी हुन् ।
सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएका थिए ।
सभापति राणाले बाँदर नियन्त्रणका लागि नयाँ उपायहरु खोज्नुपर्ने बताउँदै भनिन्,‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ । बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ । मानिस र जनावरको द्धन्द्धमा के चाहीँ गरिराछ ? संरक्षण गर्नु राम्रो हो, म एकदमै संरक्षण अभियन्ता नै हो । तर मान्छेले खान नपाउनेगरी संरक्षण गरेर त फाइदा छैन ।’
उनले अगाडि भनिन्, ‘कलिङको एउटा प्रिन्सिपल हामीले ल्याउनुपर्यो । किनभने बँदेल त खान्छ नी मान्छेले, बाँदर त खाँदैन । बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । उनीहरुको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन बर्षमा नियन्त्रण भएछ । त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाँही गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि समस्या भयो ।’
विदेशमा शिकार गर्ने समय तय गरेको हुने बताउँदै उनले नेपालमा त्यस्तो व्यवस्था नभएकोले वन्यजन्तुको राम्रो व्यवस्थापन हुन नसकेको बताइन् ।