काठमाडौँ: ललितपुर महानगरपालिका वडा नम्बर–३ स्थित होटेल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा एकजना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो ३ बजेर ३० मिनेटमा मिनभवन घर भएका सजिलमान शाक्य पौडी खेल्दै गरेको अवस्थामा घाइते भएका हुन् ।
सजिलामानको अहिले नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । बुवा पुष्करमान शाक्यका अनुसार उनलाई भेन्टिलेटरमा राखिएको छ । पीडित परिवारले स्वीमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएका दाबी गरेका छन् ।
होटलका प्रतिनिधिहरूले प्रहरीसँग स्वीमिङ पुलमा करेन्ट नफैलिएको दाबी गरेका छन् । पीडित परिवारले त्यसबारे अनलाइन मार्फत प्रहरी प्रधान कार्यालयमा अनुसन्धानका लागी निवेदन दिएका छन् ।
ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले त्यसबारे अनुसन्धान भइरहेको बताए । घाइतेको अवस्थामा गम्भीर छ । सजिलमान परिवारसँगै सो होटलमा गएका थिए । होटेल सञ्चालकको लापरबाहीले करेन्ट फैलिएको घटनालाई ‘हर्ट अट्याक’ बनाउन खोजिएको पीडित परिवारले दाबी गरेका छन् ।