डोटी: एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बिदाको दिन बिना पास चल्ने सरकारी गाडी नियन्त्रणमा लिने अभियान चलाएको छ ।
सरकारी गाडीको व्यापक दुरुपयोग भएको भन्ने आलोचना आएपछि सार्वजनिक बिदाको दिन बिना पास चल्ने सरकारी गाडीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने गरेको अनेरास्वबियुका डोटी जिल्ला ईन्चार्ज बिरवहादुर बिष्टले बताए ।
सरकारी गाडीको दुरुपयोग भइरहेको गुनासो आएपछि सो रोक्न माग गर्दै असार २९ गते डोटीमा क्रियाशिल ५ त्रिद्यार्थी संगठनहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए पश्चात पनि प्रशासनले कुनै चाँसो नराखेपछि यो अभियान चलाएकाे बिष्टले बताए ।
गत शनिवार शिखर नगरपालिका र बडीकेदार गाउँपालिकाका गरि दुई मोटरसाईकल नियन्त्रणमा लिइएको सो संगठनका जिल्ला संयोजक दिनेश सिंहले बताए । श्रावण ६ गते पहिलो पटक मालपोत कार्यालय डोटीको नाममा रहेको मोटरसाईकल नियन्त्रणमा लिई अभियानको थालनी भएको सिंह बताउँछन् ।
साउन १३ गते यातायात ब्यवस्थापन कार्यालय राजपुर, सडक डिभिजन कार्यालय, कारागार कार्यालय र भु–क्षय नियन्त्रण तथा जलाधार कार्यालयको गाडी नियन्त्रणमा लिईएको ईन्चार्ज बिष्ट बताउँछन् । उनले साउन २० गते कर कार्यालयको स्कारपियो, बन कार्यालय, सघन सहरी कार्यालय, र सडक डिभिजन कार्यालयका मोटरसाईकल नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको बताए ।
साउन २७ गते के आई सिंह गाउँपालिका, सडक डिभिजन र घरेलु कार्यालय राजपुरको मोटरसाईकल, भाद्र ६ गते आदर्श गाउँपालिकाको गाडी र भदाै ८ गते खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयको मोटरसाईकल नियन्त्रणमा लिइएको अनेरास्वबियुले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ज्ञापन पत्रमा सार्वजनिक बिदा र कार्यालय समयभन्दा बाहिर सञ्चालन हुने सवारी सधानहरुलाई नियन्त्रण गर्नु पर्ने र सवै सरकारी कार्यालय तथा स्थानीय तहमा हुने भ्रष्टाचार र नीतिगत भ्रष्टाचार छानविन गरि नियन्त्रण, नियमन तथा कारवाही गर्नु पर्ने माग राखिएको थियो ।