धनगढी: धनगढीमा एक महिलामाथि कुुटपिट गरिएको छ । धनगढी उपमहानगरपालिका–४ चटकपुुरकी लक्ष्मी भट्टमाथि बुधबार बिहान कुटपिट गरिएको हो।
भट्टका छोरा नवीनले स्थानीय प्रेम विष्टले मदिरा सेवन गरेर आमामाथि कुटपिट गरेको बताए । उनकाअनुसार आपसी लेनदेनको विषयमा लामो समयदेखि विवाद रहेकोमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा विष्टसँग मिलापत्र गर्दै अबदेखि विवाद नगर्ने सहमती भएको थियो तर मिलापत्र भएको भोलिपल्टै भट्टमाथि कुटपिट भएको हो ।
उनकाअनुुसार भट्टकी बहिनी नाता पर्नेसँग हिसाबको बारेमा कुराकानी भइरहेका बेला एक्कासी आएर विष्टले उनीमाथि ईटा प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टले आपसी विवादका क्रममा महिलामाथि ईटा प्रहार गरेको पाइएको जनाएको छ ।
पीडित महिलाको टाउकोमा चोट लागेको छ । उनको धनगढीको स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । महिलामाथि कुटपिट गर्ने विष्टलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ । विष्टलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।