काठमाडौं : नेपाली सेनासँग संयुक्त सैन्य तालिमका लागि अमेरिकी सेनाको एक टुकडी नेपाल आइपुगेको छ ।
आगामी आइतबारदेखि असोज १२ गतेसम्म काठमाडौंमा हुने संयुक्त सैन्य तालिमका लागि क्याप्टेन लिम कोमेन्ट नेतृत्वको अमेरिकी सेनाको फौज अपरान्ह काठमाडौं ओर्लिएको हो । साढे ३ बजे एयर फोर्स ट्रेक ९३६ मार्फत् अमेरिकी सेनाका १२ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ ।
१२ दिनसम्म चल्ने ’एक्स ब्यालेन्स नेल २३–५५३०’ संयुक्त तालिममा सहभागी हुन नेपाल आएको अमेरिकी फौजले हातहतियार, एम्युनिसन र बन्दोबस्तीका सामान पनि साथमा ल्याएको छ । विपद व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायतालगायत विषयमा काठमाडौंमा हुने संयुक्त अभ्यासमा नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जनाको सहभागिता रहने जनाइएको छ ।
अमेरिकी वायुसेनाको विमान गत सोमबार काठमाडौं आइपुग्ने र भोलिपल्ट फर्किने पूर्वनिर्धारित कार्यक्रम खराब मौसमका कारण स्थगित भएपछि आज आइपुगेको सो जहाज भोलि फिर्ता हुने बताइएको छ ।
नेपाली सेनाले विपद व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, युएन शान्ति मिसनमा रहँदा निर्वाह गर्नुपर्ने भूमिकाजस्ता विषयमा अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायलका सैन्य संगठनसँग संयुक्त तालिम तथा अभ्यासहरू गर्दै आएको छ ।