बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकोले आफ्नो दलले राजतन्त्रको एजेन्डा छोडेको बताएका छन् ।
उनले अब आफ्नो दलको एजेन्डा हिन्दु राष्ट्र पुनः स्थापन, संवर्द्धनवाद र लोकतन्त्र भएको बताए । पार्टीले आज (शनिबार) बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राजतन्त्र र गणतन्त्रको विवाद सधैँका लागि अन्त्य भएको दाबी गरे ।
अध्यक्ष थापाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले धेरै अपेक्षा नगरेको र खुट्टा टेक्ने ठाउँसम्म बनाउन खोजेको बताए । काँग्रेस नेतृत्वमा पाँच दलको गठबन्धन बनेको हुँदा एक्लै चुनाव लड्ने अवस्था नभएकोले एमालेसँग तालमेल गर्नुपरेको थापाले बताए ।
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग आफ्नो दलको गुनासो र दुस्मनी नभएको बताएका थापाले त्यो पार्टीको अहिलेको तामझाम धनी बाउले कमाएको सम्पत्तिमा छोराछोरी रमाएको जस्तो मात्रै भएको टिप्पणी गरे ।