काठमाडौँ: लेखा अधिकृतसँग कार्यकक्षमै अश्लिल हर्कत गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको ‘इन्टेग्रीटी आइकन नेपाल-२०१९’ अवार्ड रद्द गरिएको छ। अकाउण्टबिलिटी ल्याब नेपालले अवार्ड रद्द गरेको हो
विज्ञप्ति जारी गर्दै ल्याबले उनको अनैतिक क्रियाकलाप सार्वजनिक भएपछि २४ घण्टे स्पष्टीकरण सोधिएको जनाएको छ। आफ्नो विषयमा सार्वजनिक भएका घटनाको जिम्मा लिने र संस्थाले गरेको निर्णय मान्य हुने उनको जवाफपछि ल्याब अवार्ड रद्द गर्ने निर्णयमा पुगेको हो।
उक्त अवार्ड तत्कालीन समयावधिमा प्राप्त जानकारी, सूचना र मापदण्डको आधारमा दिइएको उल्लेख गर्दै विज्ञप्तिमा समाचारहरूमा संस्थाको नाम जोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ । केही दिनअघि राईले कार्यकक्षमा आफ्नै सहकर्मीसँग यौनजन्य गतिविधि गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।