काठमाडौं : जी–२० देशका नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत भएका छन् । आजको सम्मेलनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’ मा सहमति जुटेको जानकारी गराएका हुन् ।
जी–२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर थियो ।
शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली देशहरु रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन् । चीनले रुस–युक्रेन युद्धको विरोध गरेको छैन ।
जी–२० देशहरुको विश्वको अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच हुने व्यापार कुल व्यापा मध्येको ७५ प्रतिशत हो । विश्वको कुल जनसंख्या मध्ये दुई तिहाइ मानिसहरू ती देशमा बस्छन् ।
१९ वटा देश र युरोपेली संघ गरी २० सदस्यीय रहेको जी–२० मा आज अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी भएको छ ।