दाङ: एक छात्रा विद्यालय पोशाकमा मृत फेला परेपछि स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्।
रुकुम पश्चिम्को चौजहारी नगरपालिका– १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार घर पुगेर विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्। घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए।
पीडित पक्षकाअनुसार शुक्रबार छात्रा गौतमलाई प्रिन्सिपल भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितमा कुटपिट गरेकी थिइन्।
प्रीन्सिपलकी भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले कुटपिट गरेपछि छात्रा गौतमले त्यो सहन नसकेर आत्महत्या गरेको परिवारको दाबी छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।