धनगढी: कैलालीको धनगढीमा अनुमति बिनै सञ्चालित भएको भन्दै कैलाली जिल्ला प्रशासनले बन्द गर्न निर्देशन दिएको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालिलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन अनुमति दिएको छ ।
मंगलबार प्रशासनले अनुमति नभएको भन्दै बुधबारदेखि बन्द गराउन भन्दै प्रहरीलाई पत्र पठाएको थियो । बुधबार विहानदेखि सेवा बन्द गरेको स्वस्तिकलाई उपमहानगरपालिकाले एक वर्षका लागि १५ सैय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको हो ।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य संस्था दार्ता, नविकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धि कार्यविधि २०७७ को दफा ५ को उपदफा (४) बमोजिम एक वर्षका लागि सञ्चालन गर्न इजाजत दिइएको प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठको हष्ताक्षरित पत्रमा उल्लेख छ ।
अस्पतालले बहिरंग, आकस्मिक, अन्तरंग, निदानात्मक, सामान्य शल्यक्रिय, फार्मेसी र प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवाहरु सञ्चालन गर्न पाउने गरि उपमहानगरपालिकाले अनुमति दिएको अस्पतालले जनाएको छ ।
यता, प्रशासनले अनुगमनका क्रममा बन्द गराउन भनेको अर्को अस्पताल संजिवनीलाई अहिलेसम्म धनगढी उपमहानगरपालिकाले सञ्चालन अनुमति दिएको छैन् । अहिले राष्ट्र बैंक छेउमा जग्गा भाडामा लिएर संरचना खडा गरेको भएपनि उपमहानगरपालिकाले अनुमति दिन मानेको छैन् । स्वस्तिक भन्दा धेरै अगाडीदेखि सो अस्पताल अनुमतिका लागि उपमहानगरपालिका धाइरहेको छ ।
संजिवनीका सञ्चालक दृष्यान्त बस्नेतले घरबाट बाटो माग्दा नदिने भन्दै उपमहानगरपालिकाविरुद्ध अदालतमा उजुरी दायर गरेको भनेका कारण उपमहानगरपालिकाले सञ्चालन अनुमति दिन नमानेको बताए ।
कानूनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ ।