विराटनगर: इलाका प्रहरी कार्यालय धरानले दुई ग्याँङबीचको झगडामा खुकुरी हानाहानमा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघासहित आठ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
मंगलबार विष्णुलाई धरान–१५ खोरिया बस्तीस्थित घरैमा पुगेर अर्को समूहले खुकुरी प्रहार गर्दा उनको अनुहारमा चोट लागेको थियो। उक्त घटनामा प्रहरीले तत्कालै आक्रमणकारी पक्राउ नगरेको भन्दै धरानका उपप्रमुख अइन्द्र विक्रम बेघाले फेसबुक लाइभ गर्दै प्रहरीसँग असन्तुष्टि पोखेका थिए।
तर अनुसन्धानका क्रममा उपप्रमुख बेघाकै भाइ जिष्णु वेघाको समूहले धरान–१५ सुर्य बस्तीका सन्देश राईको समुहमाथि सांघातिक रुपमा खुकुरीले आक्रमण गरेको खुलेको हो।
पक्राउ पर्नेहरुमा २३ वर्षीय बिष्णुसहित धरान–१५ सूर्य बस्तीका २४ वर्षीय अमृत तामाङ, २३ वर्षीय अनिल मगर, २५ वर्षीय सजिव राई, २४ कै बाघबिरे भनिने सुरज तामाङ, २० का मेनल तामाङ, २९ का राजकुमार लिम्बू र २६ का दीपेन्द्र राई रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानले बिष्णुसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।