डडेल्धुराः शनिबार डडेल्धुरा प्रहरीलाई एउटा सूचना प्राप्त भयो। जिल्लाको अमरगढी नगरपालिका–२ आइतबजार नजिकै विरादेको वनमा जुवातास भइरहेको छ। सूचना प्राप्त भएपछि प्रहरीको टोली त्यहाँ पुग्यो।
जुवा खेलिरहेका व्यक्ति सरकारी कार्यालयका कर्मचारी समेत थिए। प्रत्यक्षदर्शी स्थानीयका अनुसार करिव ४/५ बजेतिर विरादेउको वनमा प्रहरी पुगेको थियो। केही जुवाडेलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो। र, प्रहरीको भ्यानमा हालेर लगेको थियोे।
जसमा ४/५ वडा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको उनीहरूको भनाइ छ। तर, डडेल्धुरा प्रहरीले भने कुनै पनि जुवाडेलाई पक्राउ नगरेको बताइरहेको छ।
डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जुवा खेल्ने स्थानमा पुग्नु पहिले पानी परेकाले जुवाडे तितरबितर भएको बताए।
‘प्रयास त गरेका हौं। सफल भइएन। प्रहरी पुग्नुभन्दा पहिले पानी पर्यो,’ डीएसपी कार्कीले भने, ‘उनीहरू तल झरि सकेछन्। हामी पुग्दा केही थिएन। भेटेका व्यक्तिबाट सबुत प्रमाण केही भेटेनौं।’
तर, मोटरसाइकलसहित पक्राउ परेर लगेर पनि जुवाडे पक्राउ गरिएन भन्नुले प्रहरीको कार्य शैली प्रति प्रश्न उठाएको छ। जुवा खेलिरहेका व्यक्तिलाई प्रहरीले राजनीतिक दबाबमा परेर छुटाएको र आफू जोगिन बहानाबाजी गरेको आरोप स्थानीयको छ।
कुनै समय अगाडिसम्म जिल्ला सदरमुकामका होटल तथा घरमा जुवा हुने गरेको थियो। तर, पछिल्लो समयमा सुरक्षालाई मध्यनजर गर्दै जुवाडेहरू वनतिर लाग्ने गरेका छन्। विशेषगरी शनिबार तथा अन्य बिदाको दिन यहाँको वनमा लाखौं रूपैयाँको जुवा हुने गरेको स्थानीय बताउँछन्।