काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा सामुहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका आरोपितले नवीन राईसँगको रिसिइबीले चार जनाको हत्या गरेको स्वीकारेका छन् ।
काठमाडौं प्रहरीले सिन्धुपाल्चोकका बोल्न नसक्ने एक जना आरोपितलाई पक्राउ गरेको छ । उनले मोरङका राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको हत्या गरेको स्वीकारेका हुन् ।
शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको सामुहिक हत्या भएको थियो । अनुसन्धानमा खटिएका प्रहरीले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा उनलाई पक्राउ गरेको दाबी गरेको छ । बयानअनुसार उनी मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न सःमिलमा पुगेका थिए ।
घटनाबारे थाहा पाउने भएपछि उनले अरुमाथि पनि अन्धाधुन्ध आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरी स्रोतका अनुसार उनले प्रहरीलाई कापीमा लेखेर चार जनाको हत्या आफूले गरेको स्वीकार गरेका छन् । पक्राउ परेकालाई प्रहरीले आजै साँझ साढे ६ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।