काठमाडौं : गुन्डा नाइकेको रुपमा चिनिने योग ढकाललाई सरकारले दिएको कैद सजाय मिनाहाबारे एतिबेला चर्को आलोचना भैईरहेको छ ।
व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका ढकाल (रिगल) लाई ४० प्रतिशत सजाय भुक्तानपछि बुधवार मात्रै संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद माफी दिएका थिए ।
२०७२ असार २८ गते नेपालगन्जको धम्बोजीचोकमा स्थानीय २९ वर्षीय चेतन मानन्धरमाथि खुँडा प्रहार भएको थियो । रिगलकै योजना र निर्देशनमा उक्त घटना भएको प्रहरीको दाबी थियो । मानन्धरको पछि मृत्यु भएको थियो ।
रिगलले घटना भएको झन्डै डेढ महिनापछि अदालतमा आत्मसमर्पण गरेका थिए । २०७२ भदौ ७ गते बाँके जिल्ला अदालतमा रिगलले त्यत्तिकै आत्मसमर्पण भने गरेका थिएनन्। तत्कालीन अपराध महाशाखाको टोलीले कुमार श्रेष्ठ ‘घैँटे’ लाई काठमाडौंमा इन्काउन्टर गरेपछि पश्चिम नेपालमा गुन्डाराज चलाइरहेका रिगलले आफूलाई असुरक्षित महसुस गरेका थिए ।
२०७२ भदौ ३ गते काठमाडौंमा घैँटैको इन्काउन्टर भएको थियो ।