काठमाडौं : अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका हस्त गौतमविरूद्ध मुद्दा दर्ता भएको छ।
गौतमविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले आज (बिहीबार) काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सहायक न्यायाधिवक्ता चन्द्र संजेलले जानकारी दिए। उनका अनुसार गौतमविरूद्ध चार वटा कसुरमा मुद्दा दर्ता भएको छ।
सहायक जिल्ला न्यायाधिवक्ता संजेलले उनीविरूद्ध मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा मुद्दा दायर भएको बताए।
उनका अनुसार पहिलो फाइलमा ६ जना, दोस्रोमा ४ जना, तेस्रोमा ५ जना र चौथो फाइलमा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको हो। जसमध्ये हस्त गौतमलाई तीन वटा फाइलमा मुख्य प्रतिवादी बनाइएको छ।
यस प्रकरणमा अर्का एक जना प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी कमल तामाङ हुन्। उनी भने चार वटै फाइलमा प्रतिवादी बनाइएका छन्। सोही आरोपमा अर्की एक जना ज्योति कुँवर भन्ने व्यक्ति पनि प्रहरी हिरासतमा छिन्। अरू दुई जना प्रतिवादी पूर्ण लामा र भरतकुमार काफ्ले भन्ने व्यक्ति फरार छन्।