काठमाडौं : नेकपा (एमाले)का तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने र संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका सांसदहरुले शिक्षामन्त्री अशोक राइसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन् । भेटपछि एमालेका सचेतक महेश बर्तौलाले यस्तो जानकारी गराएका हुन् ।
‘सामूदायिक र सरकारी शिक्षालाई अझ व्यवस्थित ढंगले अघि बढाउने कुरामा सरकारले पछिल्लो समय ल्याएको शिक्षा विधेयकले सरकारको नियतमाथि नै आशंका पैदा गरिदिएको बर्तौलाले बताए । उनले भने- ‘तीन तहको सरकारको दायित्वलाई व्यवस्थित ढंगले संविधानले दिएको सीमा भित्र रहेर अघि बढ्ने गरी संघीय शिक्षा ऐन आउनुपर्ने थियो । तर, सरकारले सबै दायित्वबाट पन्छिने गरी विधेयक ल्याएको छ ।’
सरकार सदासयताका साथ अघि बढ्न चाहन्छ भने उक्त विधेयक फिर्ता लिनुपर्छ भनेर मन्त्री राईलाई सुझाव लिएको पनि उनले जानकारी दिए ।
शिक्षण पेशा सम्मानित र मर्यादित पेशा भएको भन्दै जबसम्म शिक्षण पेशालाई मर्यादित र सम्मानित हो भन्ने कुरा राज्यले स्वीकार गर्दैन तवसम्म सार्वजनिक शिक्षाप्रतिको नागरिकको भरोसा, विश्वास र गुणस्तरीयता सदृढ हुन्छ भन्ने कुरा संभव नहुने पनि बर्तौलाले बताए ।
शिक्षा विधेयक विरुद्ध विभिन्न १८ बुदे माग राखि देशभरका शिक्षक शिक्षिकाहरुले बुधबारदेखि आन्दोलनलाई निरन्तरता दिएका छन् । आन्दोलनमा ७७ वटै जिल्लाका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको पाईएको छ ।