दार्चुलाः दार्चुलाको मालिकार्जुन गाउँपालिका–४, ऐरिछाना गाउँमा खानेपानीको चरम समस्या भएको छ। खानेपानीको अभावमा आफ्नो पिठ्युँको भारीबाट कहिलै मुक्ति नपाएको यहाँका स्थानीयले गुनासो गरेका हुन्।
ऐरिछानाका ७० वर्षीय धुमा धामी गाउँ नजिकैको मुहान (नौलो) बाट बोकेर पानीको जोहो गर्न बाध्य छन्। उमेरले डाँडा काट्न लाग्दासमेत पिठिउँको भारी बिसाउन नसक्दा उनी निराश छन्।
‘खान लाउनभन्दा पानीको निकै दुःख भयो। आउला र घर घरमा पानीको धारा, अब मरेपछि,’ उनले दुखेसो पोखे। बिहान बेलुका दैनिक रूपमा टाढाको मुहानबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता रहेको बताउँछन्, ऐरिछानाकै भुवनसिंह धामी।
‘घरमा धारा छैन, गाउँमा पाइप पुगेको भए पनि पानी आउँदैन,’ शङ्करपुर मावि पस्तीमा कक्षा १२ मा अध्ययनरत धामीले भने। विद्यार्थी र परिवारका अन्य सदस्यले पिउन र बस्तुभाउका लागि दैनिक चार÷पाँच पटक मुहानबाट गाग्री र जारमा पानी बोक्नुपर्ने बाध्यता रहेको छ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनी स्पष्ट व्यवस्था गरिएको छ। तर, पनि दार्चुलाका अधिकांश गाउँबस्तीमा खानेपानीको समस्या छ।
दार्चुला सदरमुकाम खलङ्गासहित विभिन्न स्थानीय तहका गाउँ गाउँमा स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्। यहाँको मालिकार्जुन, शैल्यशिखर, लेकमलगायत स्थानीय तहमा सुक्खायाममा खानेपानीको हाहाकार हुने गरेको छ।