डोटीः दिपायलको पिपल्ला बजारबाट पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट दिनदहाडै २ लाख ४५ हजार रुपैयाँ गायब भएको छ।
शुक्रवार बिहान सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको कार्यालय पछाडि पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट उक्त रकम गायब भएको हो।
सरस्वती इलेक्ट्रोनिक्स र प्राची स्टेशनरी पिपल्लाको माथिल्लो तलामा इन्स्योरेन्स कम्पनीको कार्यालय रहेको छ। दिपायल सिलगढी नगरपालिका–५ का हिक्मत भण्डारीले झिल्लीमा बेरेर आफ्नो मोटरसाइकलको लेगगाडमा सो रकम झुण्डाएर ल्याएका थिए।
उनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कम्प्युटर सहायक हुन्। बैंकमा जम्मा गर्न ल्याएको रकम मोटरसाइकलमै छोडेर उनी शुक्रवार बिहान १० बजेर ७ मिनेटमा कार्यालय गएका थिए। कार्यालयको व्यस्तताले मोटरसाइकलमा राखेको पैसा सँगै लग्न भूलेका भण्डारीलाई करिब डेढ घण्टापछि याद आएको थियो।
‘डेढ घण्टापछि एक्कासि पैसा मोटरसाइकलमा छुटेको याद आयो’, भण्डारीले भने, ‘पैसा लिन जाँदा गायब थियो, दुःख गरी कमाएको पैसा गायब हुँदा रुनु न हाँस्नु भएको छ।’
उनले तत्कालै प्रहरीलाई समेत खबर गरेका थिए। प्रहरीले समेत आसपास छानबिन गर्दा रकम फेला पार्न नसकेको जनाएको छ। पार्कीङ्गका लागि जाँदा पैसा राखिएको झिल्ली उनकै मोटरमा झुन्डाइएको फुटेज सिसिटिभी क्यामेरामा देखिएको भण्डारीले बताए।