बाजुरा : बाजुरामा मिनी ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्लाको जगन्नाथ गाउँपालिका- ३ कर्णाली करिडाेर अन्तरगतको बेर्नामा मिनी ट्रक दुर्घटनामा परेको हो।
सुर्खेतबाट खाद्यान्न सामान बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश –०२-००१६- ०५५७ नम्बरको मिनी ट्रक जगन्नाथ गाउँपालिकाकाे बेर्मा बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक भण्डारीका अनुसार ट्रक सडक खण्डबाट दुई सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा चालक दैलेखको आठबिस नगरपालिका- ४ का अन्दाजी ३६ वर्षीय देवीराम सिजापती गम्भीर घाइते भएका छन् ।
उनको खुट्टा भाचिएको र टाउकोमा समेत चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको पनि प्रहरी निरीक्षक भण्डारीको भनाइ छ ।
चालकसँगै घाइते भएका सहचालक दैलेखको दुल्लु नगरपालिका -२ का अन्दाजी १८ वर्षीय अर्जुन विक र जाजरकोट बिरेन्द्र नगर नगरपालिका-१२ का अन्दाजी २२ वर्षीय मोहन घर्तेर मगर घाइते भएका छन् ।
दुर्घटना के कति कारणले भएको भन्ने जानकारी आउन भने बाँकी रहेको छ । प्रहरीले घाइतेको उद्धार गरि उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ।