बैतडी– बैतडीमा जिल्ला प्रशासन कार्यालयले हतियार बुझाउन गरिएको आग्रहको अटेरी भएको छ । प्रशासनले तोकेको समय भित्र कसैले पनि हतियार नबुझाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर प्रशासनले गत चैत मसान्तसम्म इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको भएपनि उक्त अवधिमा कसैले पनि हतियार नबुझाएको सूचना अधिकारी भारतीले बताए ।
उनका अनुसार जिल्लामा बारबोर, एकनाले र दुईनाले बन्दुकसहित करिब एक हजार इजाजतप्राप्त हातहतियार रहेकामा तीमध्ये २५१ हातहतियार द्वन्द्वकालमै प्रशासनमा जम्मा गरिएका थिए।
निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन भनिएको उनको भनाइ थियो।
हातहतियार नबुझाउनेलाई के गर्ने भन्नेबारे गृह मन्त्रालयको आदेश पर्खिराखेको र सोहीअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने उनले बताए । तोकिएको समयमा हातहतियार नबुझाएकाले खानतलासी गरेर कारबाही गरिने जनाइएको छ।
हातहतियार जम्मा नहुँदा यसले निर्वाचनको शान्तिसुरक्षामा असर पार्ने आशङ्का गरिएको छ। सूचना जारी गरेर बुझाउन आग्रह गरेकामा नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुने प्रहरी नायब उपरीक्षक रमेश पालले बताए।