धनगढी: नेपालमा मनसुन भित्रिएको दुई साता पुग्न लागेको छ। जेठ १६ गते मनसुन भित्रिएकोमा कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन।
जसका कारण पश्चिम नेपालका तराइका जिल्लामा अत्यधिक गर्मी बढेको छ। महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार कैलाली र कञ्चनपुर जिल्लामा निरन्तर गर्मी बढेको छ। कैलालीको धनगढी र आसपासका क्षेत्रमा सोमबार अत्यधिक गर्मी थियो। मंगलबार बिहान सामान्य वर्षा भए पनि गर्मी भने घट्न सकेको छैन।
मौसमविद्हरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिएपछि पानी पर्छ। तर, अझै पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव छ। त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी पर्नुबाहेक मनसुनी वायुको कारण पानी पर्न सकेको छैन।
तर अब चर्किएको घामबाट एक/दुई दिनमै राहत मिल्ने संकेत देखिएको मौसमविदले बताएका छन्। त्यसको संकेत आजैदेखि देखिएको छ। आज बिहानैदेखि सुदूरपश्चिमका केही क्षेत्रमा पनि बादल लागेको छ।
साथै आज बिहानदेखि सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा वर्षा गराउने प्रणाली विकसित भई दक्षिण–पूर्व दिशामा फैलिरहेको छ। सो क्षेत्रका थोेरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ।
मौसमविद गोविन्द झा भन्छन्, ‘अबका केही दिन मनसुनी झरी जस्तो लगातार पानी नपरे पनि बेलाबेला पानी पर्ने सम्भावना छ।’
सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ। यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ। केही वर्षयता भने सरदर मितिभन्दा अगाडि मनसुन भित्रिने र सरदर मितिभन्दा पछाडि मनसुन बाहिरिने गरेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ।