काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा कम्पनीका छाता संगठन वायुसेवा सञ्चालक संघबीच टकराब सतहमा पुगेको छ।
प्राधिकरण महानिर्देशक प्रदिप अधिकारी र संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापाबीच बढेको दुरीका कारण सम्पूर्ण वायुसेवा सञ्चालकले समस्या भोगिरहेको निष्कर्षमा संघका सदस्य पुगेका हुन्।
महानिर्देशक अधिकारी क्याप्टेन थापालाई नीतिगत निर्णयबाटै पेल्ने र थापा राजनीतिक पहुँच प्रयोग गरेर अधिकारीलाई पदबाटै हटाउने रणनीतिमा लागेपछिको टकराबले वायुसेवा कम्पनीहरू समस्यामा परिरहेका थिए।
बढ्दो ‘द्वन्द्व’ साम्य नभएको र कम्पनीहरू दिनानुदिन समस्यामा पर्दै गएको निष्कर्ष निकाल्दै केही महिनाअघि बसेको सञ्चालक समिति बैठकले अध्यक्षबाट थापालाई हट्न सदस्यहरूले अनुरोध गरेका थिए। सदस्यहरूको अनुरोधमा अध्यक्ष थापाले आफू पदबाट हट्न तयार रहेको र त्यसका लागि साधारणसभा आह्वान गर्ने बताएका थिए।
अध्यक्षबाट हट्न क्याप्टेन थापा तयार भएपछि अहिले वायुसेवा सञ्चालक संघ साधारणसभा तयारीमा जुटेको छ। तिहारअघि नै वा तिहारलगत्तै साधारणसभा गर्ने गरी संघले अहिले अडिटका काम तीव्र गतिमा गरिरहेको एक सदस्यले जानकारी दिए।
थापा २०७८ सालमा भएको २१औं साधारणसभाबाट अध्यक्ष निर्वाचित भएका थिए। दुई वर्षे कार्यकाल रहने संघको साधारणसभा आगामी पुसमा हुनुपर्ने हो। तर, पछिल्लो परिघटनाका कारण दुई महिनाअघि नै साधारणसभा गरेर नेतृत्व हस्तान्तरण गर्न थापा तयार भएका हुन्।
साधारणसभा तयारी अन्तिम चरणमा पुगेसँगै नेतृत्व कसले लिने भन्ने होड सुरु भएको छ। अध्यक्षमा थापा नहुने निश्चित भएपछि हाल महासचिव रहेका समिट एयरका एकाउन्टेबल म्यानेजर मनोज कार्की र कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले नेतृत्व लिन ‘लबिङ’ थालेका छन्।