काठमाडौं – राप्ती नदीमा माछा मार्ने क्रममा बिष्फोट हुँदा पाँच जना घाइते भएका छन्। नदीमा बिष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने क्रममा बिष्फोट भएर पाचँ जना घाइते भएका हुन् । घाइते हुनेमा एक पनि रहेका छन् । उनीहरू आइतबार अपरान्ह ५ बजेतिर राप्ती नदीमा माछा मार्न गएका थिए।
प्रहरीका अनुसार बिस्फोटमा परी लमही नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय प्रदीप चौधरी, २७ वर्षीय आनन्दकुमार भण्डारी, ९ वर्षीय बालक सुशान्त भण्डारी, उनका बुवा ३७ वर्षीय दीपक भण्डारी र ३४ वर्षीय दलबहादुर चौधरी घाइते भएका छन्। घाइतेमध्ये प्रदीप चौधरीलाई थप उपचारका लागि भैरहवा लगिएको एसपी सुरेश काफ्लेले जानकारी दिए। अन्य चार घाइतेको लमहीमा उपचार भइरहेको जनाइएको छ ।
माछा मार्ने क्रममा उनीहरूले बनाएको घरायसी बिस्फोटक पदार्थ पड्केर घाइते भएको अनुमान गरीएको छ । घाइतेको अनुहारलगायत अंगमा चोट लागेको प्रहरीले जानकारी दिए ।