बैतडी : बैतडीको पाटन नगरपालिका–८ घर भई बाजुरामा कार्यरत सशस्त्र प्रहरी हवलदार ४० बर्षीय नरेन्द्रसिंह महराको बस दुर्घटनामा मृत्यु भएको छ । मंगलबार बाजुराबाट ३ ओटा गाडीको यात्रा गरेर घर पुगिरहेका उनको हरिचन मोडमा मृत्यु भएको हो । उनलाई सुदूूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले राति १बजे ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको थियो ।
महरा बाजुरादेखी स्याउले, स्याउलेदेखी डडेल्धुरा र डडेल्धुराबाट खोड्पे बजार सम्म फरक–फरक गाडिमा आएका थिए । फोनमा कुरा गर्दागर्दै घर गइरहेका महराले गाडीले आफुलाई ठक्कर दिएको समेत फोनमा भनेको आफन्त बताउछन् । श्रीमती अनितासंगको कुराकानीमा उनले आफुलाई चोट लागेको बताएपछि आफन्तहरु घटनास्थल पुगेका थिए । आफन्तहरु घटनास्थलमा पुग्दा उनको मृत्यु भैसकेको थियो ।
घटना भएको ठाउँमा सडकको अलि साघुँरो भएपनि आफ्नै साइडमा हिडिरहेका उनलाई दु्रत गतिको बसले ठक्कर दिएको देखिन्छ । अहिले बस र चालक कञ्चनपूरको पुर्नवास घर भएका जनकराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई ठक्कर दिएर भागेको बस खोचलेक प्रहरी चौकीले नियन्त्रणमा रहेको छ ।
यसअघि बसको पहिचान नहुदाँ स्थानियले अवरुद्ध गरेको दशरथचन्द राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
मृतक महरा ७ जना दाजुभाई मध्येका भाई हुन् । उनको घरमा श्रीमती र १छोरा तथा १ छोरी रहेका छन् । छोरा कक्षा ८ र छोरी कक्षा ६ मा अध्ययरत छन् ।