धनगढी: सुदूरपश्चिममा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। अछामसहित सुदूरपश्चिमका सबै जिल्लामा दुईपटक भूकम्प गएको हो।
प्रहरीका अनुसार अछाममा एक युवक घाइते भएका छन्। उनी विद्यालयको भवनबाट हाम फाल्दा घाइते भएका हुन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा रहेको बिन्देवासीनि माद्यामिक विद्यालयको विज्ञान भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन्।
भवनबाट हाम फाल्दा घाइते भएका सन्तोषको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। यस्तै अहिलेसम्म आंशिक क्षति भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो।
केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ।