धनगढी: मंगलबार दिउँसो गएको भूकम्पमा बझाङमा छ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित केदार स्युँ र खप्तडछान्ना गाउँपालिकाका एक–एक जना घाइते भएका हुन् ।
उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दिपेश चौधरीले जानकारी दिए ।
भूकम्पपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले बताएका छन् । त्यस्तै, एउटा बाख्रो मरेको जानकारी गराइएको छ ।
भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । थप क्षतीको विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि ५ बजेर १९ मिनेटसम्म सम्ममा ७ पटक भूकम्पका धक्का महसुस भएकाे बताईएको छ ।
दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । ५.३ म्याग्निच्युडको भूकम्पको धक्काको केन्द्रबिन्दु बझाङको तालकोट आसपासको क्षेत्रमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पहिलो धक्का महसुस भएको २६ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो । ३ बजेर ६ मिनेटमा मापन गरिएको भूकम्प ६.३ म्याग्निच्युडको रहेको थियो । जसको केन्द्रबिन्दु अघिल्लो पटकको केन्द्रबिन्दुभन्दा केही तल भाटेखोला छेउमा रहेको थियो ।
दोस्रो पटकको धक्काको ७ मिनेटपछि ३ बजेर १३ मिनेटमा तेस्रो पटक भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ । ५.१ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रबिन्दु भाटेखोला, तालकोट र रिलु क्षेत्रको आसपासमा रहेको थियो ।
त्यस्तै, चौथो पटक ३ बजेर ४५ मिनेटमा भूकम्पक मापन भएको थियो । तेस्रो पटकको धक्काको ३२ मिनेटपछि ४.१ म्याग्निच्युडको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । चौथो पटकको धक्काको केन्द्रबिन्दु लेखगाउँ र कडेलको आसपासमा रहेको छ ।
त्यस्तै, पाँचौ पटक ४ बजेर २८ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प महसुस भएको छ । उक्त धक्काको केन्द्रबिन्दु जिल्लाको भाटेखोला, रिलु र तालकोट आसपास रहेको छ ।
पाँचौ धक्का महसुस भएको ३ मिनेटपछि ४ बजेर ३१ मिनेटमा छैठौं धक्का महसुस भएको केन्द्रले जनाएको छ । ४.३ म्याग्निच्युडको मापन गरिएको उक्त धक्काको केन्द्रबिन्दु भने जिल्लाको हेमन्तवाडा र कडेल क्षेत्र आसपास रहेको छ ।
बझाङमा सातौं पटक भने ५ बजेर १९ मिनेटमा भूकम्प महसुस भएको छ । यसपटक ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । सातौं पटकको भूकम्पको धक्काको केन्द्रबिन्दु जिल्लाको हेमन्तबडा र भाटेखोला आसपासमा रहेको केन्द्रले जनाएको छ ।
ति भूकम्पका धक्का पश्चिमी क्षेत्रसहित भारतको दिल्लीसम्म महसुस गरिएको जनाइएको छ ।