धनगढी: मंगलबार दिउँसो गएको भूकम्पमा बझाङमा ११ जना घाइते भएका छन् ।
घाईते हुनेहरुमा जयपृथ्वी नगरपालिका-११ की ७ वर्षीय सलिना जोशीको बाया खुट्टाको तिर्घा भाँचिएको छ । सोही वडा की प्रमिला जोशीको बायाँ हातको पाखुरा भाँचिएको छ । उनीहरु दुवै जनाको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
अन्य सामान्य घाईते हुनेहरुमा खप्तडछान्ना गाउँपालिका-७ की १८ वर्षीय सुनिता रोकाया, जयपृथ्वी नगरपालिका-७ का ३ वर्षीय ,नितिक बोहारा, १६ वर्षीय यलिसा बम्म, मष्टा गाउँपालिका-३ की १५ वर्षीय आँसु सार्की, सोहि गाउँपालिका-१ की १३ वर्षीय, सविता रोकाया, ३६ वर्षीय, शान्ती देवी थापा, दुर्गाथली गाउँपालिका -६ का २३ वर्षीय अम्मर जाग्री, तालकोट गाउँपालिका -३ का १८ वर्षीय कमल कडाल, र जयपृथ्वी नगरपालिका-१० की २० वर्षीय रमा परियार उपचारपछि घर फर्किएको जिल्ला अस्पताल बझाङले जनाएको छ ।
मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भई पटक पटक आएको भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ भने केही संरचनाहरुमा क्षति पुगेको छ ।